११ बैशाख २०८१, मंगलबार

कोप–२६ को सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान


प्रधानमन्त्री देउवा बिमानस्थलमा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय जम्बो प्रतिनिधिमण्डलसहित आज शुक्रबार बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान १०:४० बजे कतार एयरको उडानबाट लण्डन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव प्रेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी लगायत रहेका छन् ।

कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !