१३ बैशाख २०८१, बिहिबार

गृह जिल्ला पुगेर विष्णु पौडेलले भने- प्रतिनिधिसभा विघटन सही थियो


विष्णु पौडेल फाइल फोटो

बुटवल । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गरेका छन् ।

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले ओलीले गरेको प्रतिनिधिसभा विघटन सही साबित भएको भन्दै पुष्टि गर्ने प्रयास गरेका हुन् ।

पौडेलले संसद पुर्नस्थापनापछि संसद र सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको हुँदा प्रतिनिधिसभा विघटन सही भएको दावी गरेका हुन् । पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए ।

उनले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको समेत बताउदै विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गरे ।

उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताए ।

“अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौ” उहाँले भने ।

अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उनले हरेक किसिमका बेथिति र विसङ्गती विरुद्ध लाग्न आग्रह पनि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु