१३ बैशाख २०८१, बिहिबार

विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल


विष्णु पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताउनुभएको छ ।

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताउनुभयो ।

उहाँले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको स्वाभिमान उचो बनाउनुका साथै मुलुकको दिगो विकासका लागि काम गरेको दाबी गर्नुभयो ।

उपमहासचिव पौडेलले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति र विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ लाग्ने बताउनुभयो ।

“अब जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढ्छौँ । संसदीय दल अब स्वेच्छाचारी हुने छैन । सबै नेता र कार्यकर्ता सम्मानित र स्वाभिमानी बनेर काम गर्ने वातावरण तयार गरी समावेशी पार्टी बनाउँछौ” उहाँले भन्नुभयो ।

अब नगरमा आउने नयाँ नेतृत्वले विकासमा भएका ढिलासुस्ती विरुद्ध खबरदारी गर्न आवश्यक रहेको बताउँदै उहाँले हरेक किसिमका बेथिति र विसङ्गती विरुद्ध लाग्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष लीला गिरी, नेता नेत्र पन्थी, भोजप्रसाद श्रेष्ठ, शिवराज सुवेदी, बाबुराम पन्थी, किसन ज्ञवाली, केशवराज पन्थी लगायतले पार्टीलाई अझै सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !