७ बैशाख २०८१, शुक्रबार

विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने छ : प्रधानमन्त्री देउवा


प्रधानमन्त्री शेरबहादुर देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताउनुभएको छ । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उहाँले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिनुभयो ।

उहाँले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिनुभयो ।

उहाँले पीडितलाई तत्काल राहतका निम्ति अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा भएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !