७ बैशाख २०८१, शुक्रबार

ओलीले भने- पाँच दलीय गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी हो


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी भएको आरोप लगाएका छन् ।

पार्टीको वडा कमिटीको आज शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा ओलीले सत्तारुढ गठबन्धनको चर्को आलोचना गर्दै अग्रगामी हुनै नसक्ने बताए ।

आफ्नो नेतृत्वको सरकार महान् उद्धेश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीले आरोप लगाए । ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताए ।

आक्रोशित हुँदै ओलीले भने, ‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने ?’

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको दावी गर्दै अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने समेत प्रष्ट पारे । पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीले बताए ।

उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’

ओलीले आफ्नो पार्टीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी तयारी गरिरहेको दोहोर्‍याउँदै सोही अनुसार पार्टीको काममा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरुको भ्रममा नपरी देश निर्माणको अभियानमा जुटन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

उनले पार्टीका नीति, नेतृत्व कसरी निर्माण हुन्छन् भन्ने कुरामा नमूनाको रुपमा जीवन्त छलफल गरेर सर्वसम्मतिमा निर्णय लिइने गरेको भन्दै ती काम समग्र पार्टीलाई प्रेरित गर्ने प्रेरक शक्ति रहेको बताए ।

उनले एमाले पार्टी देश र जनताको बृहत्तर हितमा समर्पित रहेको बताए । उनले पार्टीका सम्पूर्ण क्रियाकलाप लोकतान्त्रिक हुने तर लोकतन्त्रका नाममा छाडातन्त्र नचाहेको बताए । उनले पार्टीमा असमझदारीलाई निषेध गर्ने र समझदारीका नाममा लोकतन्त्रलाई निषेध नगरिने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !