८ बैशाख २०८१, शनिबार

चितवन पुगेर मन्त्री रेग्मीले भनिन्- संसद् अवरोधले अध्यादेश निष्क्रिय बन्यो


उमा रेग्मी फाइल फोटो

चितवन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताएकी हुन् ।

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उनको भनाइ थियो । उनले भनिन्, “अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछौ ।” हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

महिला तथा बाबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उनले भनिन्, “अहिलेको कानुनलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छौं ।”

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पु¥याउने गरी सरकारले काम गर्ने बताइन् । उनले भनिन्, “हुनेखानेलाई त सहज होला निमुखाहरुलाई कठिन भएको छ ।” सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ । उनले थपिन्, “स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ ।” विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताइन् ।

आफूले सम्हालेको मन्त्रालयमा केही ठोस काम गर्नुपर्ने देखिएको बताउँदै उनले नीतिनिर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताइन् । फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गरे । गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उनले अब रोकिएका कामहरु सहज रुपमा अगाडि बढ्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !