८ बैशाख २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै, यी हुन् बन्न लागेका मन्त्रीहरु


लुम्बिनी मुख्यमन्त्री कुल प्रसाद केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम टुंगो लगाएपछि लुम्बिनीमा आज आइतबार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

यसअघि शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा आजसम्म स्थगित गरिएको थियो । नयाँ बन्न लागेकामन्त्रीहरुको नाम टुंगो लगाएपछि आज आइतबार दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको हो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउसो ३ बजेको लागि सपथ ग्रहणको समय तय गरेको जनाएको छ । लुम्विनीको माओवादी केन्द्र संसदीय दलका नेता केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार रहेको थियो ।

अव नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्न लागिएकोले अव लुम्विनीमा ४ दलको गठबन्धनको सरकार हुनेछ । लुम्बिनी प्रदेशसभामा नेकपा एकीकृत समाजवादीकी एक मात्र सांसद रमा घर्ति पनि मन्त्री बन्दैछिन् ।

नेपाली कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल, दाङका अर्जुन कुमार श्रेष्ठ, रूपन्देहीका बसिउद्धिन खाँ र पाल्पाका वीरबहादुर राना मन्त्री बन्दैछन् । नेपाली कांग्रेसले राज्यमन्त्रीमा रिना नेपाल विश्वकर्मालाई पठाउने भएको छ ।

लुम्विनी कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले मन्त्री बन्नेको नाम टुंगो लागिसके पनि कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने छलफल जारी रहेको बताए । यसअघि नै कांग्रेसबाट दाङका डिल्ली बहादुर चौधरी पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री बनिसकेका छन् ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउँने भएको छ । त्यस्तै सूर्य चिन्हबाट निर्वाचन जितेर राज्यमन्त्री बन्ने पक्का भएपछि माओवादी केन्द्र रोजेकी दाङकी विमलाकुमारी खत्री वली पनि राज्यमन्त्री बन्ने भएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !