८ बैशाख २०८१, शनिबार

यी हुन् नेपाली कांग्रेसबाट बन्न लागेका नयाँ मन्त्रीहरु


दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल, उमाकान्त चौधरी र उमा रेग्मी

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले झण्डै तीन महिना पछि आज शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो विहीबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएपछि आज शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेर सपथग्रहण समेत गराउन लागेका हुन् ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । गठबन्धनका शीर्ष नेताहरुवीच कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा एकिकृत समाजवादीले ४–४ मन्त्रालय लिने सहमति भएको हो ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय , महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत राखेको छ । स्वास्थ्य मन्त्रालय छाडेको कांग्रेसले भने कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।

यसअघि नै कांग्रेसवाट प्रधानमन्त्री देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृहमन्त्री, नारायण खड्कालाई परराष्ट्र मन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री र उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाइसकेका छन् ।

देउवाले आफूनिकटलाई मात्र मन्त्री बनाएको भन्दै रामचन्द्र पौडेल पक्षले असन्तुष्टि प्रकट गर्दै आएको छ । अव काँग्रेसवाट नयाँ मन्त्रीमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेटन लागेका छन् ।

काँग्रेसभित्र मन्त्रालयको भागबण्डा मिलाउदा पौडेल पक्षलाई रक्षा र कानुन मन्त्रालय परेको छ । पौडेल पक्षवाट दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजाल मन्त्री बन्ने लगभग निश्चित जस्तै भएको छ । यद्यपि पौडेलले पक्षले आफूहरूलाई ३ वटा मन्त्रालय दिनुपर्ने माग राख्दै आएपनि प्रधानमन्त्री देउवाले २ वटा मन्त्रालय मात्र दिन सक्ने बताएका छन् ।

सरकारका प्रवक्ता समेत वर्तमान कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाले तयारी गरेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा देउवा निकट उमा रेग्मीलाई पठाउने तयारी गरिएको छ ।

कृष्णप्रसाद सिटौला पक्षबाट भने उमाकान्त चौधरीलाई मन्त्री भएका छन् । चौधरीलाई देउवाले युवा तथा खेलकूद मन्त्रालय दिने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !