१२ बैशाख २०८१, बुधबार

नेकपा (एस) मा किचलो, भवानी खापुङले गरे राज्यमन्त्री पद अस्वीकार


भवानी खापुङ

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वको सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीमा देउवा सरकारमा पठाउने मन्त्रीहरुको विषयलाई लिएर किचलो उत्पन्न भएको छ ।

नेकपा (एस) मा तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाउदा एकीकृत समाजवादीले ४ वटा मन्त्रालय मात्र पाएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी गरिएको थियो ।

तर मन्त्रीको इच्छा राखेका खापुङलाई राज्यमन्त्रीमा सीमित गरिएपछि उनले चेतावनी दिएर राज्यमन्त्री पद नखाने भएका हुन् । तर खापुङलाई अध्यक्ष नेपालले मनाउने प्रयास जारी राखेका छन् ।

आज शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको हो । सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने निर्णय गरेको छ ।

साथै विरोध खतिवडालाई शहरी विकास मन्त्री, प्रेमबहादुर आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र कृष्णकुमार (किसान) श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले ३ महिना पुग्न २ दिन बाँकी रहँदा (८८ दिनपछि) आज शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !