१३ बैशाख २०८१, बिहिबार

अन्तत: उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने निश्चित


उमेश श्रेष्ठ

काठमाडौँ । अन्तत: उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने निश्चित भएको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने भएका हुन् ।

गत साउन १० गते प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका श्रेष्ठ राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् । अन्य थुप्रै केन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ नेताहरुले पनि अवसर नपाएका कारण श्रेष्ठलाई राज्यमन्त्रीबाटै हटाउनुपर्ने प्रधानमन्त्री देउवामाथि दबाब रहेको छ ।

यद्यपि उनले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन् । पछिल्लो समय राज्यमन्त्रीका रुपमा श्रेष्ठले राम्रो काम गर्ने कोशिस गरेको चर्चा चल्दै नआएको भने होइन । प्रधानमन्त्री देउवाले अन्तिमसम्म पनि श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा निरन्तरता दिने अडान राखेका थिए ।

मन्त्रालय भागबण्डा मिलाउदा स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनको पद धरापमा परेको हो । तर प्रधानमन्त्री देउवाले श्रेष्ठलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी दिने प्रवल सम्भावना पनि रहेको बालुवाटार स्रोतले संकेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !