७ बैशाख २०८१, शुक्रबार

आजै मन्त्रिपरिषद्ले पूर्णता पाउन सक्ने प्रचण्डको भनाई


प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने संकेत गरेका छन् ।

आज बिहीबार पचली टिभीको उदघाटन समारोहलाई आज सम्बोधन गर्दै प्रचण्डले आफूले मन्त्रीहरूको नाम टुंग्याइसकेको भन्दै आजै मन्त्रिपरिषद् विस्तारको प्रयास भएको जानकारी दिए । प्रचण्डले भने, ‘उस्तै परे आजै मन्त्रिपरिषद् टुंगिन्छ होला, हामीले समावेशी समानुपातिकतालाई सम्बोधन हुने गरी मन्त्री सिफारिस गरिसकेका छौँ ।

उनले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको समेत बताए । यही प्रयास अनुसार माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।

उनले भने, ‘महिलालाई पार्टीबाट ५० प्रतिशत नै हामीले पुर्‍याएका छौँ । पछि पारिएका समुदायहरू सबैलाई सम्बोधन गर्ने सोचका साथ अघि बढेका छौँ ।’ उनले पार्टीमा पनि ३५ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याइने बताए ।

माओवादी केन्द्रले देउवा सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम टुङ्गो लगाएको छ । हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीका सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

यसका साथै स्थायी कमिटी बैठकले बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !