८ बैशाख २०८१, शनिबार

बालुवाटारमा पुगेर पौडेलले देउवासँग मागे ३ वटा मन्त्रालय


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो पक्षलाई ३ वटा मन्त्रालय मागेका छन् ।

आज बुधबार बसेको पौडेल पक्षको बैठकले कांग्रेसले ७ वटा मन्त्रालय पाउने सहमति भएकोले काँग्रेसमा आफ्नो पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवालाई भेट्न वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह बालुवाटार गएका हुन् । पौडेल पक्षले सुरुवातदेखि नै तीन मन्त्रालयल आफ्नो भागमा रहने भन्दै त्यही अनुरूप मन्त्रीहरूको नाम सिफारिस गर्न गृहकार्य समेत गरेको थियो ।

छलफलका क्रममा प्रधानमन्त्री देउवाले पार्टीले पाएका मन्त्रालयमध्ये २ वटा मन्त्रालय पौडेल पक्ष र एउटा सिटौलालाई पक्षलाई दिने जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा ३ वटा मन्त्रालय दिन नसकिने बताएपछि अन्तिम समयमा पौडेल २ वटा मन्त्रालयमै चित्त बुझाउन राजी भएका छन् ।

यस बीचमा अन्य पार्टीका तर्फबाट विवाद भएर मन्त्री दिन नसक्ने अवस्था भए आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त गरी सरकारको प्रभावकारिता विस्थापित गर्न पनि पौडेल पक्षले देउवाको ध्यानाकर्षण गराएका थियो ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पौडेल पक्षलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको बताए । आफ्नो पक्षबाट नामावली पठाउने समझदारी भएको उनको भनाइ छ । यस्तै सिटौलालाई एक मन्त्रालय दिनेबारे पनि देउवाले जानकारी गराएका थिए ।

सो क्रममा सिटौलाले आफू निकटबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउने तय भइसकेको जानकारी गराएका थिए । यसअघि नै आफू निकटका बालकृष्ण खाँण गृह मन्त्री र ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुन मन्त्री बनाएका देउवाले थप एक जनालाई पनि मन्त्री बनाउने तयारी गरेका छन् ।

काँग्रेस स्रोतका अनुसार उनले सचेतक पुष्पा भुसाललाई मन्त्री बनाउने गरी तयारी गरिरहेका छन् । तर यसवारे अन्तिम टुंगो भने लागिसकेका छैन । सम्भवतः देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !