७ बैशाख २०८१, शुक्रबार

तीन बुँदे सहमति छिट्टै कार्यान्वयन गर्न महासचिव नेत्र विक्रम चन्दको माग


नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव नेत्र विक्रम चन्दले सरकारको पुन: ध्यानाकर्षण गराएका हुन् ।

विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

“विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं”, विप्लवले भनेका छन्।

तत्कालीन सरकारले विप्लवसँग गरेको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने, बन्दी रिहा गर्ने, मुद्दा फिर्ता लिने र विप्लवले शान्तिपूर्णरुपमा राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने उल्लेख थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !