६ बैशाख २०८१, बिहिबार

काठमाडौंमा सभा सम्मेलन गर्न रोक लगाएको भन्दै एमाले आक्रोशित


नेकपा एमाले

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधान महाधिवेशन उद्घाटनकै दिनदेखि सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको भन्दै एमाले आक्रोशित भएको छ । एमालेको विधान अधिवेशन भोलिदेखि तीन दिनसम्म गोदावरीमा हुँदैछ ।

शुक्रबार ललितपुरको गोदावारीमा हुन लागेको एमाले विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरिएको एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले बताए । स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज एक आदेश जारी गर्दै कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण गर्न यस जिल्लामा मिति २०७८ असोज १४ गते १२ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी सभा सम्मेलनमा रोक लगाउने निर्णय गरेको हो ।

एमालेले सभा सम्मेलन रोक लगाउने गरी प्रशासन काठमाडौंले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ । काठमाडौं प्रशासनले अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने भनेर आदेश जारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !