११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाले एकाएक बोलाए सर्वदलीय बैठक


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले भोलि बिहीबार बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएका हुन् ।

संघीय संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न तथा सहमतिको वातावरण बनाउने प्रयास स्वरुप सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएको बताएको छ ।

सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साथै प्रतिपक्षी दलहरु नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपाका शीर्ष नेताहरुलाई छलफलको लागि बोलाइएको हो ।

गत भदौ २३ गतेदेखि शुरु भएको संघीय संसदको चालु अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गरेर संसद अवरुद्ध गर्दै आएको छ । नेकपा एमाले छोडेर माधव कुमार नेपालको नेतृत्वमा रहेको दल नेकपा (एकीकृत समाजवादी) तिर लागेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना जारी गर्नुपर्ने माग गर्दै एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको हो ।

यसका साथै देउवा सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ । भोलि बिहीबार संसद् बैठक बसेपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !