११ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूचीहरू


सङ्घीय संसद फाइल फोटो

काठमाडौं । संघीय संसदको दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको नवौँ अधिवेशनको आठौँ बैठक आज बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बैठक बस्ने तय गरिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको जनाइएको छ । बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने सम्भावना रहे पनि कार्यसूचीमा राखिएको छैन ।

आजै राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालय जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले अध्यागनम विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने सचिवालयले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !