६ बैशाख २०८१, बिहिबार

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय


मन्त्रिपरिषद बैठक फाइल फोटो

काठमाडौं । देउवा सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसबाहेक अन्य देशमा पनि परराष्ट्र मन्त्रालयका कर्मचारी भएका कारण नियुक्त भएकाबाहेक सबै राजदूत फिर्ता हुने छन् ।

मन्त्रिपरिषद्को निर्णयपछि चीन, भारत, संयुक्त राज्य अमेरिका लगायतका देशमा कार्यरत सबै नेपाली राजदूत फिर्ता हुनुपर्नेछ । परराष्ट्र सेवाबाट गएका राजदूत भने फिर्ता हुने छैनन् ।

संयुक्त राज्य अमेरिकाका लागि डा युवराज खतिवडा, चीनका लागि महेन्द्रबहादुर पाण्डे, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायतका सबै राजदूत तत्कालै फिर्ता हुनुपर्नेछ ।

यस्तै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली

, कतारका लागि नेपाली राजदूत नारद भारद्वाज, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेसमेत फिर्ता हुनुपर्ने छ ।

यसैगरी इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्य, स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा लगायतका राजदूतसमेत फिर्ता हुनेछन् । अघिल्लो सरकारले राजदूत नियुक्तिको मापदण्ड विपरीत केही व्यक्तिलाई राजदूत बनाउने निर्णय गरेको थियो ।

सो निर्णयसमेत वर्तमान सरकारले फिर्ता गरिसकेको छ । राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको भए पनि त्यसको परिपालना नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाइएको र ती देशमा छिट्टै नयाँ राजदूत नियुक्त गर्ने सरकारको तयारी छ । यस्तै, सरकारले संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै, कर्णाली करिडोरको सल्लीसल्ला सिमीकोट खण्डको दुल्लीकुनादेखि लालीबगर खण्डको सात किमी र लैफुबद्रीगाउँदेखि हुक्काखोला खोलासम्मको १३.५ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाबाट निर्माण गर्न स्वीकृति दिइएको छ ।

यसैगरी सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृत प्रदान गरिएको छ । कोभिड–१९ व्यवस्थापन आदेश २०७८ समेत बैठकले स्वीकृत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !