७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको दावी : नेकपा (एस) मा युवाको आकर्षण बढेको छ, उचाइ लिन्छ


माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा युवाको आकर्षण बढेको दावी गरेका छन् । आज मंगलबार बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि पत्रकारसँग उनले पार्टी गठनले देशभर तरंग पैदा भएको पनि बताए ।

उनले भने, ‘देशभरि तरंग पैदा गरेको छ । युवाहरूको आकर्षण बढेको छ । पार्टीले उचाइ लिन्छ ।’ उनले गैरकम्युनिस्ट चरित्र रहेको पार्टीबाट मुक्त हुन पाउँदा खुसी लागेको समेत बताए । पार्टी गठनपछि नेकपा (एस) को पहिलो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

करिब १ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफल हुनेछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !