७ बैशाख २०८१, शुक्रबार

एमालेको लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र मिडियाका मालिकलाई देउवाले विभूषण दिए : ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको एमालेको लोकप्रिय सरकारको बिरुद्धमा लेख्ने पत्रकार र तिनका मिडिया मालिकलाई अहिलेको देउवा सरकारले विभूषण प्रदान गरेको आरोप लगाएका छन् ।

आज आइतबार दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा संविधान दिवसको अवसरमा एमालेद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई देउवा सरकारले ठूल-ठूला पदक दिएकोमा आक्रोश प्रकट गरेका हुन् ।

उनले भने, ‘अघिल्लो सरकार। जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो। सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभुषित भए ।’

उनले देउवा सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका हुन् । ओलीले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

उनले कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारिकताको पक्षमा पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मान गर्नुपर्ने बताए । उनले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने जिकिर गरे ।

उनले अदालत र न्यायाधीशहरुको पनि चर्को आलोचना गरे । उनले यी सबै विषयको इतिहासले निर्मम मूल्यांकन गर्ने बताए । देउवा सरकारले प्रदान गरेको विभूषणका विषयमा आक्रोश पोखेका हुन् ।

उनले भने, ‘जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने, झगडीयाहरू सम्मानित !,’ ओलीको भनाइ थियो, ‘दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिनँ । मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो नि । यो सबैका लागि लज्जाजनक विषय हो । इतिहासले निर्मम मूल्याङ्कन गर्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !