८ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अबरुद्ध गरेकोले तनाव सिर्जना भई सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारवाहीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सर्वदलीय बैठक बोलाएका छन् ।

सोमबार अपराह्न २ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई बोलाइएको छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले)संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएरसमेत निम्ता गरेका छन् । तर, स्रोतका अनुसार बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेतामात्रै सहभागी हुनेछन् । ओली सभामुखले बोलाएका कुनै बैठकमा नजानेसमेत स्रोतको दाबी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !