४ बैशाख २०८१, मंगलबार

निरास भएर रित्तै हात फर्कियो एमसिसीकी उपाध्यक्ष फातिमा नेतृत्वको प्रतिनिधिमण्डल


प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फतिमा सुमार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली हिजो साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो ।

विशेष स्रोतका अनुसार उनी ८:५० को निर्धारित कतार एयरवेजको जहाजबाट दोहातर्फ लागेकी हुन् । कडा सुरक्षाबीच बुधबार बिहान नेपाल आएकी फातिमा कतार एयरवेजको जहाजबाट आइतबार राती स्वदेश फर्किएकी हुन् ।

उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।

यस्तै, सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत शीर्ष नेतृत्वसँग पनि उक्त प्रतिनिधिमण्डलले एमसीसी परियोजनाबारे छलफल गरेको थियो ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली र अन्य केही राजनीतिक नेतासँग पनि प्रतिनिधिमण्डलले भेटवार्ता गरेको थियो । सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्वपूर्ण रहेको बताएको थियो ।

सुमारसँग भेटपछि पनि राजनीतिक दलका शीर्ष नेताहरूले एमसिसीका बारेमा राष्ट्रिय सहमति नबनाई र संशोधन नगरी अघि बढाउन नहुने धारणा राख्दै आएका छन् । एमसीसीका पदाधिकारीले यो बीचमा भेटेका प्राय सबै नेताहरुलाई आफूहरु एमसीसी संसदबाट पारित गर्नलाई दबाब दिन नआएको बरु, स्थिति के हो भन्नेमा स्पष्ट हुन आएको दाबी गरेका थिए ।

यथावत् अवस्थामा एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै खासगरी राजनीतिक दलका भ्रातृ संगठनले सडकमा विरोध प्रदर्शन पनि गरेका छन् । सामाजिक सञ्जाल हुँदै अहिले आम नागरिकमा एमसीसी पारित गर्नु हुदैन भन्ने ठुलो जनमत सिर्जना भएको छ ।

सत्ता गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाले राष्ट्रघाती सम्झौता भएको निष्कर्ष निकाल्दै एमसीसी संसद्बाट पारित गर्न नहुने अडान लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘जनता सडकमा ओर्लिसके। हामी गरिब भएकाले अमेरिकाले सहयोग गर्न खोजेको तर यसमा रहस्य लुकेको जनताले थाहा पाए। एमसीसी खारेज हुनुपर्छ।’ नेपाली जनताले एमसीसी चाहिन्न भनिसकेको अवस्था एमसीसीका प्रतिनिनिधमण्डल नेपाल आएर दबाब दिन नमिल्ने भए पनि उनीहरूले बलमिच्याइँ गरेको उनको भनाइ छ ।

सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी (जसपा) एमसीसीबारे अझै स्पष्ट देखिएको छैन । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलबीच सहमति गरेर एमसीसीवारे के गर्ने भन्ने आवश्यक निर्णय गरिने बताएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एमसीसी के गर्ने भन्ने बारेमा आफ्नो आधिकारिक धारणा व्यक्त गरिसकेका छैनन् ।

सत्ता गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्र यथावत् अवस्थामा एमसीसी पारित गर्न नसकिने अडानमा छ । यद्यपि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका पदाधिकारीलाई यसमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको भन्दै फर्काएका छन् । उनले आइतबारको सत्ता गठबन्धनको बैठकमा उनले पुरानै अडान दोहोर्याउदै यथावत् अवस्थामा एमसीसी पास गर्नु नहुने बताएका थिए ।

सत्ता गठबन्धमा रहेको नेकपा (एकीकृत समाजवादी) पनि यथास्थितिमा एमसीसी पास गर्नु नहुने बताएको छ । नेपालले शनिबार मात्रै एक सार्वजनिक कार्यक्रममा एमसीसीलाई यथावत् अवस्थामा पारित गर्न नहुने अडान दोहोर्याएका थिए ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका कतिपय दलका नेताले एमसिसीको जवाफ ढुलमुले रहेको टिप्पणी गरेका छन् । उनीहरूले सम्झौतामा संशोधन नगरी संसद्बाट पास गर्न नहुने मत राख्दै आएका छन् । एमसिसीले सरकारलाई पठाएको जवाफमा भने सम्झौतामा संशोधन गर्न नसकिने उल्लेख गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेमा एमसीसीका विषयमा दुई धारमा देखिएको छ । भीम रावल लगायतका विगतमा तेस्रोधार भनेर चिनिएका नेता अहिले पनि यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् । तर आफू सत्तामा रहेका बेला एमसीसी संसद्बाट पास गराउन निकै ठूलो जोडबल गरेका ओली मौन भएपनि एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन तोड्ने रणनीतिमा रहेका ओली घुमाउरो शैलीमा पास गर्नुपर्ने सोचमा रहेका छन् ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि नेपाल सरकार र एमसीसीबीच मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसीसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारणलाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

यस परियोजनामा ४०० केभी क्षमताको ३१२ किलोमिटर लामो प्रसारणलाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र ७७ किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

एमसीसी पारित गर्नका लागि माहोल बनाउन नेपाल आएकी उनले नेपालमा ५ दिन रहँदा प्रधानमन्त्री, मन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्तालाई तीव्रता दिएकी थिइन् । राजनीतिक भेटका क्रममा उनले एमसिसीबारे उत्पन्न आशंका मेटाउन प्रयास गर्नुका साथै यो सम्झौता नेपालको हितमा रहेकाले कार्यान्वयनमा सहयोग गर्न आग्रह पनि गरेकी थिइन् ।

स्वदेश फर्कनुअघि फातिमाले आइतबार अपराह्न होटल मेरियटमा पत्रकार सम्मेलन गरी एमसिसी परियोजना पारित गर्न ढिलाइ भइसकेको बताएकी थिइन् । सुमारले नेपालमा यो सम्झौता संसद्बाट अनुमोदनका लागि ढिला भइसकेको बताउदै उनले नेपालको संसद्ले यसलाई छिटै अनुमोदन गर्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।

उनले एमसिसीमा कुनै सैन्य स्वार्थ नरहेको र विगतमा अमेरिकाले नेपाललाई गरेको सहयोगकै निरन्तरता भएको स्पष्ट पारेकी थिइन् । एमसिसी नेपालकै आग्रहमा गरिएको सम्झौता भएकाले यसमा अनावश्यक आशंका गर्न नहुने उनको भनाइ थियो ।

एमसिसी उपाध्यक्ष सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी थिइन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘एमसिसी अमेरिकी जनताका तर्फबाट गरिएको निस्वार्थ आर्थिक सहयोग भए पनि नेपालमा यसमा राजनीतीकरण गर्ने र भ्रम सिर्जना गर्ने काम भयो।’

यद्यपि देउवाले भने संसदबाट एमसिसी पारित गराउन पर्यत्न गरिरहेको बताएका थिए । देउवाले एमसीसी नेपालको हितमा रहेको निष्कर्ष आफ्नो रहेको र यसलाई संसदबाट पारित गराउने प्रयासमा आफू रहेको भन्दै एमसीसीका पदाधिकारीहरुलाई आश्वास्त पार्न खोजेका थिए ।

एमसीसी परियोजना भन्दा पनि राजनैतिक रंगमा परिणत हुँदा नेपालमा यो परियोजनाको भविष्य थप अन्योलपूर्ण बन्दै गएको छ । एमसीसी संसदवाट पारित परियोजना उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले उच्च राजनीतिक नेतृत्वसंग भेटवार्ता गरी स्वदेश फर्किसकेको छ । तर एमसीसीको प्रतिनिधिमण्डलले एमसीसी संसदवाट पारित नेपालका राजनैतिक दलका शीर्ष नेताहरुसँग भएको भेटघाट र छलफल अपेक्षाकृत उपलब्धीमूलक नभई एमसीसीमाथि उठेका प्रश्न जस्ताको तस्तै छ ।

नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सबै राजनीतिक दलका प्रमुखहरुसँगको भेटमा उनले एमसिसीबारे उत्साहजनक प्रतिक्रिया पाइनन् । तर उनले बाध्य भएर एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी थिइन् । एमसिसीकी उपाध्यक्ष फातिमा नेतृत्वको प्रतिनिधिमण्डल निरास भएर रित्तै हात स्वदेश फर्किएसगै एमसीसीको नेपाल मिसन असफल हुने संकेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

एमसिसी सम्झौता अनुमोदन हुनेमा अमेरिका विश्वस्त

सिंहदरवार पुगेर अर्थमन्त्री शर्मालाई भेटिन् एमसीसीकी उपाध्यक्ष फतिमाले

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फतिमावीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फतिमाले सिंहदरबार पुगेर भेटिन् ऊर्जामन्त्री भुसाललाई

प्रचण्ड भेट्न खुमलटार पुगिन् एमसीसी उपाध्यक्ष फतिमा सुमार

सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष फतिमाले भेटिन् माधव नेपाललाई

भीम रावलको आपत्ति : विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने यो कस्तो विडम्बना ?

एमसीसी उपाध्यक्ष सुमार र अध्यक्ष ओलीवीच भेटघाट

अन्तत: काठमाडौँ आइपुगिन् एमसिसीकी उपाध्यक्ष फतिमा सुमार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !