१३ बैशाख २०८१, बिहिबार

सांसदहरुलाई देउवाको निर्देशन : भोलि संसदको बैठकमा अनिवार्य रुपमा उपस्थित हुनु


कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

आज मंगलबार अपरान्ह बसेको नयाँ वानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हल पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भोलि बुधबारबाट शुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले बताइन् ।

भुसालले भनिन्, ‘आजको बैठकमा विशेषगरी बैठकमा अध्यक्षता गर्नु भएका सम्माननीय प्रधानमन्त्रीज्यूले भोलिको बैठकमा सबै माननीयज्यूहरुलाई अनिवार्य उपस्थित भएर प्रभावकारी भूमिकाहरू खेल्न, सबै दलहरूसँग परामर्श गरेर मन्त्रालयलाई शीघ्र पूर्णता दिने बताउनु भएको छ ।’

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल तथा परामर्श गरेर सरकारलाई शीघ्र पूर्णता दिने बताएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा सांसदले राखेको जिज्ञासामा उनले सो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का बारेमा यो नेपालको विकासका लागि महत्वपूर्ण भएको र यो परियोजना एकाएक नभई लामो प्रक्रिया पुर्याएर आएको बारेमा धारणा व्यक्त गरेको पार्टी सचेतक पुुष्पा भुुसालले जानकारी दिइन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को पहिलो बैठकमा विगतका विचाराधीन अध्यादेश तथा विधेयक प्रस्तुत गर्ने लगायत विषयमा जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस्

सरकारले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा

एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस् : प्रधानमन्त्री देउवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !