७ बैशाख २०८१, शुक्रबार

कांग्रेस महामन्त्रीमा दुई यूवाको भिडन्त : गगनले घोषणा गरिसके, घोषणा गर्दै विश्वप्रकाश


गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका यूवा नेताहरु एवं केन्द्रीय सदस्यद्वय गगन थापा र विश्वप्रकाश शर्मा आगामी १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारमा लड्ने भएका छन् ।

यसअघि कांग्रेसमा कृष्ण सिटौला समूहमा रहेका थापाले संस्थापनइतर पौडेल समूहवाट आफू महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गरिसकेका छन् । थापाले गत भदौ १४ गते काठमाडौं महानगरपालिका-३० मा भएको कार्यक्रमबाट महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका थिए ।

उक्त कार्यक्रममा उनले भनेका थिए, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री पदमा उठ्ने घोषणा गरेको छु । मेरै वडा र अग्रजहरूका बीचमा गौरवसाथ यो घोषणा गरेको हुँ ।’

आफ्नो क्षेत्रबाट शुरु गरेको कामले सफलता पाएको उनले बताएका थिए । ‘उम्मेदवारी घोषणाका लागि यो ठाउँभन्दा अर्को पवित्र ठाउँ छैन,’ उनले भनेका थिए । आफूलाई अग्रज तथा शुभेच्छुकबाट सहयोग मिल्ने अपेक्षा गरेको पनि उनले बताएका थिए ।

काँग्रेस पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका हुन् । सिटौलको खेमामा रहेका थापा भदौ १७ गते बिहीबार भने रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा सहभागी भएका थिए । यससँगै थापा रामचन्द्र पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् ।

काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको कार्यक्रममा देखिएका थिए । योसँगै थापा पौडेल समूहमा प्रवेश गरेको पनि बुझिएको छ । कांग्रेसको १३ औं महाधिवेशनमा पनि उनी महामन्त्री पदमै चुनाव लडेका थिए । त्यतिखेर उनले आफ्ना ससुरा अर्जुननरसिंह केसी र डा. शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । केसी र थापा अहिले संस्थापनइतर समूह पौडेलनिकट देखिएका छन् ।

महामन्त्रीमा पौडेल पक्षबाट केन्द्रीय सदस्य मिनेन्द्र रिजाल पनि तयारी गरिरहेका छन्। केन्द्रीय सदस्य प्रदीप पौडेल पनि महामन्त्री लड्ने तयारीमा छन् तर उनी कुन समूहबाट उम्मेदवार हुन्छन् यकिन भइसकेको छैन । पौडेल पक्षबाट केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरूङ, सरिता प्रसाईं लगायत पनि महामन्त्री पदमा उठ्ने तयारीमा छन् । यतिधेरै आकांक्षीबाट महामन्त्री उम्मेदवार तय गर्न पौडेललाई पनि सकस पर्ने देखिएको छ ।

लोकतान्त्रिक आन्दोलनका नायक बन्न सफल प्रखर वक्ता गगन लोकप्रिय छविको जताततै प्रशंशा हुने गर्छ । काँग्रेसको १३ औ महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदार लडिसकेका थापालाई नेपाली कांग्रेसको भावी सभापतिको रूपमा पनि हेर्ने गरिन्छ । ‘नाति पुस्ता’ का गगन थापा नेताहरूका कार्यशैलीले राजनीतिप्रति नै वितृष्णा बढाएको समयमा आशाको दियो बनेर देखापरेका थिए ।

स्वास्थ्य मन्त्री भएको बेला स्वास्थ्य बीमाको अवधारणा ल्याएका थापाले खेलेको भूमिकाले पनि प्रशंशनीय छ । कुनै प्रणालीले नचलेको र आफूसँग कति डाक्टर छन् भन्ने अभिलेख समेत राख्न नसक्ने हदसम्मको अस्तव्यस्ततामा चलिरहेको स्वास्थ्य मन्त्रालयलाई उनले नीतिगत र संरचनागत सुधारबाट चलायमान बनाउने काम गरेका थिए ।

यस्तै संस्थापन पक्ष देउवा समूहबाट महामन्त्रीमा प्रवक्ता विश्वप्रकाश शर्मा लड्ने भएका हुन् । देउवा समूहबाटै महामन्त्री पदमा गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउद पनि आकांक्षी देखिएका छन् । कसलाई महामन्त्री पदमा उठाउने भन्ने बारेमा यसपटक सभापति देउवालाई फलामको चिउरा झैँ देखिएको छ ।

कांग्रेसमा यसपालिदेखि दुई वटा महामन्त्री प्रत्यक्ष निर्वाचनमार्फत् चयन हुने व्यवस्था गरेर यसअघि मनोनित महामन्त्री हुने व्यवस्था विधानबाट हटाइएको छ । संस्थापनइतर समूहबाट थापाले उम्मेदवारी घोषणा गरिसकेकोले उनीजस्तै लोकप्रिय युवा उम्मेदवार खडा गर्न देउवालाई चुनौती छ ।

देउवाले महामन्त्रीमा प्रवक्ता शर्मालाई उभ्याउन सक्ने आँकलन भइरहेका छन् । शर्माले पनि आफू महामन्त्री पदमा लड्ने संकेत पहिलेदेखि गरिसकेका छन् तर अरू उम्मेदवारले जस्तो औपचारिक घोषणा भने गरिसकेका छैनन् । स्रोतका अनुसार शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन् ।

शर्माले सम्भवत बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महामन्त्री पदमा लड्ने औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसामने हुनेछन् ।

कवि, गीतकार, संगीतकार, कथाकारको समेत परिचय बनाइसकेका कांग्रेस प्रवक्ता शर्माले कान्तिपुर टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रम ‘ऐना’ वाट समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छोएर सफल प्रस्तोताको भूमिका निभाएर पार्टी र समाजमा छुट्टै पहिचान बनाईसकेका छन् । उनले काँग्रेस प्रवक्ता नियुक्त भएदेखि नै हरेक घटनामा चाँडो भन्दा चाँडो पार्टीको बिज्ञप्ति जारी गरेर पनि सूचनामा कम्जोर काँग्रेसलाई अब्बल बनाएका छन् ।

नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण गहिराई पस्कन सफल भएका छन् ।

यतिमात्र होइन, दुई महामन्त्री पदका लागि कांग्रेसमा ७/८ जना उम्मेदवार आकांक्षी छन् । आकांक्षीमध्ये क-कसले उम्मेदवारी दिन्छन् त्यो थाहा हुन केही समय लाग्नेछ । यसरी कांग्रेस महामन्त्री पदमा भोलि सभापतिसम्म हुनसक्ने सम्भावना रहेको दुई क्षमतावान् यूवाहरु आमनेसामने भएर खरो भिडन्त हुने प्रवल सम्भावना समेत रहेको आंकलन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

पौडेल समूहवाट गगन थापा महामन्त्रीमा उठ्ने घोषणा

१४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने गगन थापाको घोषणा

प्रदीप पौडेललाई महामन्त्रीमा उठाउने पौडेल समूहको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !