१२ बैशाख २०८१, बुधबार

अन्तत: वामदेव गौतमले छाडे एमाले, अव के हुन्छ उनको सांसद पद ?


बामदेव गौतम

काठमाडौँ । अन्तत: नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । हिजो शुक्रबार गौतमले एमाले मुख्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।

गौतमले पार्टी परित्याग गर्दै सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् । गाैतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे गलत विचार, प्रवृति र शैलीका कारण आफूले एमालेबाट राजीनामा दिएको बताएका छन् ।

गौतमले एमाले छाडेपछि अव उनको सांसद पद के हुन्छ ? भनेर चौतर्फी चासो बढेको छ । राष्ट्रियसभामा गौतमलाई मनोनयन गर्ने समयमा तत्कालीन नेकपा नेतृत्वको सरकार भएतापनि अहिले उक्त पार्टीको कुनै अस्तित्व छैन ।

संविधानविद्का अनुसार उनले पार्टी छाडे पनि सांसद पद भने यथावत नै रहने भएको छ । उनी राष्ट्रियसभामा सरकारद्वारा मनोनित हुने तीन जना मध्येका एक भएकाले पार्टी छाड्दैमा पद नजाने भएको हो ।

संविधानविद्का अनुसार राजनीतिक दलबाट निर्वाचित वा मनोनीत सांसदहरूले दल त्यागेमा मात्र उनीहरूको पद जाने तर गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत सांसद भएकोले पार्टी छोडे पनि उनको सांसद पद नजाने भएको छ ।

युवराज खतिवडाले दुई वर्षे कार्यकाल पुरा गरेर पदमुक्त भएपछि केपी ओली नेतृत्वको सरकारले गत वर्ष असोज १ गते गौतमलाई राष्ट्रियसभामा मनोनित गरेको थियो । दलबाट निर्वाचित सांसदको हकमा भने पार्टी छाडेपछि स्वत: दल त्याग आकर्षित हुने व्यवस्था छ ।

यद्यपि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभामा मनोनीत गर्ने तीन जना सांसदमध्ये गौतम प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया १ बाट पराजित भएकाले प्रतिनिधिसभाको उही कार्याकालभित्र घुमाउरो बाटोबाट संघीय संसद्मा प्रवेश गरेको भन्दै गौतमको मनोनयनविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको छ ।

एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी उनले आफ्नो पुरानो पार्टी त्याग गरेका हुन् । उनी विगत लामो समयदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका थिए ।

राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव तामाङले बताएका छन् ।

गौतमले राजीनामा पत्रका एमाले अध्यक्ष ओलीमाथि नवौं महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशालाई कहिल्यै अवलम्बन नगरेको आरोप लगाएका छन् । पछिल्लो पटक नेता गौतमले नेकपा (एकीकृत समाजवादी) ले जनताको बहुदलीय जनवाद अनुशरण गरेमात्र पार्टी प्रवेश गर्ने बताएका थिए ।

यो पनि पढ्नुहोस्

आखिर किन छाडे वामदेव गौतमले नेकपा एमाले ? यस्ता छन् कारणहरु

वामदेव गौतमले छाडे एमाले, पार्टी कार्यालय पुगेर दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !