१३ बैशाख २०८१, बिहिबार

विभाजनको सँघारमा पुगेको विवेकशील साझाका मिश्र र पाण्डेले बोलाएको छुट्टाछुट्टै बैठक बस्दै


रवीन्द्र मिश्र र मिलन पाण्डे

काठमाडौं । पार्टीभित्र मतभेद चर्किएपछि पार्टी विभाजनको संघारमा पुगेको विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज एकैदिन छुट्टाछुट्टै बोलाएको केन्द्रीय समितिको बैठक बस्दैछ । पार्टीमा आन्तरिक किचलोले विवेकशील साझा दोस्रो पटक विभाजनको डिलमा पुगेको हो ।

मिश्रले बोलाएको बैठक एकीकरण सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका संयोजक पाण्डेले बुधबार भने केन्द्रीय सदस्यहरुलाई बिहीबार भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठकका लागि बोलाएका हुन् । जबकी मिश्रले सोही दिन साढे १२ बजेका लागि बैठक आह्वान गरेका छन् ।

बैठकमा बैठक सञ्चालन कार्यविधि पारित गर्ने, न्याय तथा सुशासन आयोग गठन गर्ने, वैकल्पिक पाठशाला (स्कुल अफ अल्टरनेटिभ पोलिटिक्स) को स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा लगायतका एजेण्डामा छलफल हुने पाण्डेले उल्लेख गरेका छन् ।

केही समयअघि मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका थिए । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।

उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेपछि पार्टीमा मतभेद चर्किएपछि विवेकशील साझा पार्टी विभाजनको सँघारमा पुगेको हो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएपछि विवेकशील साझा पार्टीमा फेरि फूटको संकेत देखिएको हो ।

अध्यक्ष मिश्रले जनआन्दोलनको उपलब्धिप्रति नै विमती राख्दै प्रतिवेदन सार्वजनिक गरेपछि शुरु भएको बिग्रह अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने अवस्थासम्म पुगेको हो ।

अध्यक्ष मिश्रले एकतर्फी रुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न भन्दै मिश्रले बैठकका लागि मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल मार्फत् आमन्त्रण गरेका थिए ।

संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको पार्टी अध्यक्ष मिश्रको दस्तावेजलाई चुनौती दिँदै संयोजक पाण्डे सहितका चार नेताले पनि अलग्गै दस्तावेज सार्वजनिक गरेका छन् ।

२०७४ साउन ११ मा एक भएका तत्कालीन विवेकशील पार्टी र साझा पार्टी २०७५ पुसमा विभाजित बनेका थिए । फेरि २०७७ मंसिर २४ गते एकीकरण गरेका उनीहरुले ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेका थिए । तर एकीकरण गरेको एक वर्ष पनि नपुग्दै विवेकशील साझा पार्टी फेरि फुटतर्फ अग्रसर देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !