६ बैशाख २०८१, बिहिबार

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गर्ने


राजेन्द्र पाण्डे फाइल फोटो

हेटौडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेशको मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ । नेकपा एमालेका १२ सांसदले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

आफूलाई धोका दिएकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने माधव नेपालले तयारी गरेका छन् ।

पहिला माधव नेपाल पक्षमा रहेकी शाक्य ओली समूहमा प्रवेश गरे लगत्तै संसदीय दलकाे नेतामा चयन भएसंगै बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी थिइन् । नेपालले एमाले फुटाएर नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि शाक्य एमालेमै फर्किएकी थिइन् ।

ओली सरकार हुँदा नै मुख्यमन्त्री बन्ने चर्चामा रहेकी उनी एमाले विभाजन भएपछि उनी ओली समूहमा फर्किएर मुख्यमन्त्री भएकी थिइन् । एमाले विभाजन गराउन उक्स्याएर अन्तिममा आएर आफूलाई धोका दिएको भन्दै नेता शाक्य लगायतका विगतमा एमालेका तेस्रो धारको रुपमा चिनिएका नेताहरुसँग नेपाल रुष्ट भएका छन् ।

यसरी ‘पालोको पैचो’ फेर्न उनले विपक्षी गठबन्धनका अन्य दलसँग छलफल गरेर शाक्यलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने रणनीतिमा रहेका छन् । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै नेकपा (एस) का नेताहरुले आलोचना गर्दै आएका छन् । मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले आज सनाखत गरेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

शाक्यले आफू पदका लागि नयाँ पार्टीमा नजाने बताउँदै आएकी छन् । उनी नेकपा (एकीकृत समाजवादी) मा नआएपछि गठबन्धनको दलबाट मुख्यमन्त्री बनाउने तयारी रहेको नेताहरू बताउँछन् । उक्त पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे मुख्यमन्त्री बनाउने गरी वाग्मती प्रदेशमा दाबी पेश गर्ने तयारी नेकपा (एस) ले थालेको हो ।

१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

आज प्रदेश निर्वाचन कार्यालय हेटौँडामा १२ जना सांसद सनाखतका लागि उपस्थित भएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनका अनुसार राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालको सनाखत भएको छ ।

वाग्मती प्रदेशसभाका १२ जना सांसदले मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई आफू नेकपा (एकीकृत समजवादी) पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् । अन्य प्रदेश सदस्यहरूको भने भोलि सनाखत हुने उनको भनाइ छ ।

यसअघि निर्वाचन आयोगले नेकपा एमालेबाट विभाजित भइ बनेको नेकपा (एकीकृत समाजवादी) का तर्फबाट निर्वाचित जनप्रतिनिधिले दल रोज्न पाउने समयसीमा दिएको थियो । आयोगले दल दर्ताका लागि निवेदन दिएको मिति भदौ २ गतेदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र यी दुवै पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यले निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको थियो ।

मुख्यमन्त्री शाक्यलाई केपी शर्मा ओली एवं डोरमणि पौडेलकै शैली अपनाएको आरोप पनि लाग्दै आएको छ । विगतमा अविश्वासको प्रस्ताव आउँदा अचानक प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री पौडेलको शैलीमा शाक्य हिड्न थालेको आरोप लागेको हो ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश

वाग्मतीमा एमालेका १२ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !