७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ आएपछि झलनाथले भने- केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवादी हो


झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।

मिर्गौंला प्रत्यारोपण गराएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै खनालले केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी नेकपा एमाले ‘दक्षिणपन्थी अवसरवादी’ भएको टिप्पणी गरेका छन् ।

बिगतमा एमालेको बरिष्ठ नेता समेत रहेका खनालले ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलेका कारण एमाले विभाजन गरेर नयाँ पार्टी नेकपा (एस) निर्माण गर्नुपरेको पनि बताएका छन् । उनले आफूले एमाले फुटाएको नभई विद्रोह गरेको बताएका छन् ।

उनले नवौं महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको र अध्यक्ष ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताए ।

उनले नेकपा एमाले त आफूहरुको रगत र पसिनाले निर्माण गरेको पार्टी भएतापनि केपी ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिएकोले एउटा क्रान्तिकारी पार्टीको आवश्यकता परेकोले नयाँ पार्टी खोलेको स्पष्ट पारेका छन् ।

खनालले आफ्नो जीवन नाफा र बोनस भएको समेत बताएका छन् । उनले सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिएर दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा सम्पूर्ण जीवन समर्पित गर्ने पनि बताए ।

खनाललाई स्वागत गर्न अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए । उपचारको लागि उनी गत असार २ गते नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

यो पनि पढ्नुहोस्

एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको झलनाथ खनालको दावी

नेकपा एमाले समाजवादीमा झलनाथ खनाल वरिष्ठ नेता, ९५ सदस्यीय केन्द्रीय कमिटी

दिल्लीवाट आयोगलाई झलनाथको पत्र : म नेकपा (एकीकृत समाजवादी) मा छु, यतैवाट सनाखत गर्ने व्यवस्था मिलाइदिनू

कित्ता क्लियर गर्दै दिल्लीवाट झलनाथले भने- मेरो समर्थन माधव नेपालको पार्टीमा छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !