८ बैशाख २०८१, शनिबार

औपचारिक रुपमै फुटयो एमाले : ओली र नेपाल नदीका दुई किनारा


केपी ओली र माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेका पूर्वमहासचिव माधव कुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ । नेपाल अध्यक्ष भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिएको हो ।

बुधबार राती अबेर सो पार्टीले दल दर्ता प्रमाणपत्र पाएसँगै औपचारिक रुपमै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विभाजित भएको हो । सो पार्टीका ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदले आजै निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेपछि हिजै राती नै आयोगले दर्ता प्रमाणपत्र दिइएको हो ।

माधव नेपाल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहेका छन् । उक्त दलको ५५ जना केन्द्रीय सदस्यीय कार्यसमिति रहेको छ । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।

संघीय संसद् सदस्य वा केन्द्रीय समितिको २० प्रतिशत समर्थनमा दल फुटाउन सक्ने र सो दलका सांसदमाथि दल त्याग लगाउन नपाइने अध्यादेश सरकारले ल्याइदिएपछि एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको हो । एमालेभित्र लामो समयदेखिको आन्तरिक विवाद रहँदै आएको थियो ।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि सो पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था भएकोले त्यसका लागि काम गर्ने बताएका छन् ।

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

लामो रस्साकस्सी पछि अन्तत: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरुमा बढेको व्यक्तिगत स्वार्थपूर्ति र सत्ता मोहले एमाले औपचारिक रुपमै विभाजन भएको हो । विभाजन हुनुअघि एमालेमा केपी शर्मा ओली समूह र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएका थिए ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोमा लागि सकेको छ । धेरै उतार-चढावका बाबजूद यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग सहकार्य गर्दै नेपाल समूहले राष्ट्रियसभा उपनिर्वाचनदेखि ओली सरकार ढाल्ने सम्मको खेल खेलेकोले एमाले विभाजन भएको हो ।

ओली र नेपाल नदीका दुई किनारा

गायक दिपक खरेलले गाएको एउटा गीत छ – कहाँ प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई नदीका दुई किनारा जस्तै बनाइदिएको छ ।

आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढालेर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेकपा एमालेका अध्यक्ष ओली नेपालसँग क्रुद्द भएका थिए । नेता नेपाल पनि ओलीले ‘अति गरेको’ भन्दै देउवालाई विश्वासको मत दिएका थिए । तर, कार्यदलमा सम्मिलित दोस्रो तहका नेताहरू सहमति जुटाएर पार्टी एक ढिक्का बनाउन चाहे पनि त्यसले एमाले विभाजनलाई रोक्न सकेन ।

यसरी नेपाली काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाएर पार्टीको सरकार ढाल्न अहम् भूमिका निर्वाह गरेर आफ्नै घरमा आगो लगाएर खरानी बनाएका छन् । संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपालले यसअघि संसद बचाउन भनेर गठनबन्धनलाइ नै रोजे ।

नेपालले नयाँ दल दर्ताको प्रमाणपत्र पाएसंगै ओली र नेपालको लगभग ५ दशकको ‘मायापिरती’ पारपाचुकेमा टुंगिएको छ । लगभग ६ महिना अघि नेपालले आफू पार्टीका अध्यक्ष ओलीसँग आफ्नो ‘मायापिरती’ ४८-४९ वर्ष पुरानो भएको भन्दै सजिलै नछुट्टिने वा नतोडिने बताएका थिए ।

मदन भण्डारीको मृत्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे । उनीहरूमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे । तर करिव दुई वर्षअघि भदौदेखि सुरु भएको खटपटले अहिले उनीहरूलाई नदीका दुई किनारा बनाएको हो ।

दुई वर्षअघि अर्थात् २०७६ भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने क्रममा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। त्यसक्रममा तत्कालीन नेकपा सचिवालय बैठकमै ओली–नेपाल भनाभन भएको थियो । ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप नेपालमाथि लगाएपछि विवादले चर्को रूप लिएको थियो ।

त्यतिबेला बैठक आरम्भ गर्दा प्रधानमन्त्री ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा आफूसँग सहमति लिएर पार्टीले निर्णय लिन सक्ने बताएपछि नेपालले सबै समान तहका नेता भएकाले सहमति लिनुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिएकाले भनाभन भएपछि उत्पन्न विवादले त्यतिखेर अस्तित्वमा रहेको नेकपाभित्र दुई वर्षसम्मै किचलो भइरह्यो । ओली र नेपाल फरक-फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।

नेकपाका महासचीव भई सकेका पूर्वप्रधानमन्त्री नेपाल र अहिलेका नेकपाका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली वीचको माया-पिरती टुंगिएसंगै अनिर्णयको बन्दी भएको पार्टीले नयाँ स्वरुप पाएको छ । यद्यपि नेकपाका नेता-कार्यकर्ताहरु ओली र नेपालको व्यक्तिगत महत्वाकांक्षा र शक्ति संघर्षले पार्टी विभाजन भएकोमा वाक्क-दिक्क भएर उनीहरुमा निराशाको कालो बादल छाएको छ ।

नेपालका कम्युनिस्ट पार्टीको जुट र फुट शृंखला लामो छ । नेपालमा राजनीतिक दल विभाजन हुने रोग नयाँ भने होइन तर यसले पार्ने दीर्घकालीन असर भने विडम्बनापूर्ण रहेको तीतो यथार्थ हामीले स्मरण गर्न सक्छौ । पार्टी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्छ । तर नेपालको नयाँ दलको हालत के हुन्छ भनेर थाहा पाउन आगामी निर्वाचनसम्म कुर्नुपर्ने हुन्छ ।

यो पनि पढ्नुहोस्

अन्तत: दर्ता भयो माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’

यस्तो छ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र नियमावली

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !