७ बैशाख २०८१, शुक्रबार

नेकपा माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज, कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सबै कम्युनिष्टसँग एकता प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । श्रेष्ठले सबै कम्युनिष्टहरुसँगको एकता र ध्रुवीकरणका लागि पहल गर्ने एक बनाउन बहस सुरु गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

उनले केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको जानकारी दिए । श्रेष्ठले केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएको पनि बताए ।

बैठकले ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ । प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् । बागमती प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् भने गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । प्रदेश नं. १ मा भने सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये कसलाई इन्चार्ज बनाउने भन्ने बारेमा टुंगो लाग्न सकेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !