१३ बैशाख २०८१, बिहिबार

मन्त्री छान्न र महाधिवेशनको बारेमा छलफल गर्न बोहोराटारमा पौडेल समूहको बैठक


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुलाई बोलाएको बैठक जारी रहेको छ । आफ्नै निवास बोहोराटारमा जारी बैठकमा महाधिवेशनको बारेमा छलफल र सरकारमा आफ्नो पक्षका सांसदलाई मन्त्रीमा पठाउने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।

हिजो शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा पनि बैठकमा छलफल हुदैछ ।

पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको भोलिपल्ट नै पौडेलले आफ्नो पक्षका नेताको भेला बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले भईरहेको बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला लगायत नेताहरु सहभागी भएका छन् ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कमिटी बैठकपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । पौडेल पक्षले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा पनि बृहत छलफल हुने एक नेताले बताए ।

अहिलेसम्म गठबन्धनमा मन्त्रालयको भागबण्डा हुन नसकेकाले आजको बैठक महाधिवेशनको नयाँ कार्यपालिकापछिको रणनीतिबारे केन्द्रित हुने भएको छ । आजको बैठकमा मन्त्री छनोटदेखि महाधिवेशनबारे रणनीति बनाउने विषयमा छलफल हुने बताइएको छ । पौडेलको भागमा २ बढीमा ३ मन्त्रालय पर्ने सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !