७ बैशाख २०८१, शुक्रबार

शशांक निवासमा काँग्रेसको पौडेल पक्षका नेताहरुको बैठक जारी


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा जारी रहेको छ । आज शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् ।

हिजो बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ भित्र महाधिवेशन गर्न सम्भव नहुने देखिएपछि कांग्रेसमा अब महाधिवेशनको मिति कहिले तोक्ने भन्ने विवाद छ ।

कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन तोकेको छ । तर तोकिएको मितिमा महाधिवेशन गर्न नसकिने भन्दै कांग्रेसभित्र बहस सुरु भएको छ । महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायत सहभागी भएका छन् ।

निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने अवस्थामा रहेको सत्तारूढ दल कांग्रेसमा चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विवाद सुरु भएको छ । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने तर्क गरेपछि विवाद चर्किएको छ ।

देउवा पक्षका नेताहरूले स्थानीय र प्रतिनिधिसभा निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले त्यसको प्रतिवाद गरेका थिए । महाधिवेशन चुनावपछि सार्ने संस्थापन पक्षको भनाइको वरिष्ठ नेता पौडेलले नै प्रतिवाद गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !