२८ भाद्र २०८१, शुक्रबार

माओवादीका कुलप्रसादको मात्रै लुम्बिनीको मुख्यमन्त्रीमा दाबी पेश


कुलप्रसाद केसी

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) को मात्रै मुख्यमन्त्रीका रुपमा दावी पेश भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलका अनुसार मुख्यमन्त्रीमा केसीको मात्रै दाबी परेको हो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आज बिहीबार दिउँसो ३ बजेसम्म दिएको समयभित्र विपक्षी गठबन्धनले माओवादीतर्फवाट केसीको दावी पेश गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट हिजो राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनको दावी पेश गरेको हो ।

संविधानको धारा १६९ को उपधारा १ को खण्ड ‘क’ बमोजिम मुख्यमन्त्री पोखरेलले साउन २७ गते राजीनामा दिएकाले प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरिएको थियो ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ४२ जनाको हस्ताक्षरसहित दाबी पेश गरिएको हो ।

गठबन्धनमा संलग्न प्रदेशसभा सदस्यले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका हुन् । चार दलीय गठबन्धनसँग ४२ सांसद भएकोले आज केसी मुख्यमन्त्री बन्नेछन् ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउने सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि अहिले माओवादी पछि काँग्रेसले सरकार चलाउने सहमति भएको हो ।

हाल विपक्षी गठबन्धनले माओवादीका नेता केसी मुख्यमन्त्री बन्नेछन् भने ८ महिना फागुनपछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

विशेष स्रोतका अनुसार लुम्विनी प्रदेशमा विपक्षी गठबन्धनले १० सदस्यीय मन्त्रिपरिषद् बनाउने गठबन्धनमा अनौपचारिक सहमति भएको छ । यदि १० सदस्यीय मन्त्रिपरिषद् बनेमा कांग्रेस-माओवादीले ३/३ वटा मन्त्रालय र अरु ४ मन्त्रालय गठबन्धनमा सहभागी दलले पाउने भएका छन् ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा विपक्षी गठबन्धनले आज बहुमतको नयाँ सरकारको दाबी पेश गर्दै

लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति : अहिले माओवादी, पछि काँग्रेस

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !