२ आश्विन २०८१, बुधबार

लुम्बिनीमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने सहमति : अहिले माओवादी, पछि काँग्रेस


कुलप्रसाद केसी र विरेन्द्र कनौडिया

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो सरकार चलाउने सहमति भएको छ । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अहिले माओवादी पछि काँग्रेसले सरकार चलाउने सहमति भएको हो ।

हाल विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् भने ८ महिना फागुनपछि नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति भएको छ ।

विशेष स्रोतका अनुसार लुम्विनी प्रदेशमा विपक्षी गठबन्धनले १० सदस्यीय मन्त्रिपरिषद् बनाउने गठबन्धनमा अनौपचारिक सहमति भएको छ । यदि १० सदस्यीय मन्त्रिपरिषद् बनेमा कांग्रेस-माओवादीले ३/३ वटा मन्त्रालय र अरु ४ मन्त्रालय गठबन्धनमा सहभागी दलले पाउने भएका छन् ।

लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न भोलि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएपछि उक्त राजीनामा स्वीकृत गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले २२ घण्टाको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

लुम्विनी प्रदेशमा १६ महिना बाँकी रहेको प्रदेशसभाको आयुमा आधा-आधा सरकार चलाउने सहमति भएको हो । फागुनपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने भएपछि काँग्रेसको नेतृत्वमा चुनावमा जाने पक्का जस्तै भएको छ ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा भोलि बिहीबार ३ बजेसम्म बहुमतको नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीको विशेष अधिवेशनविरूद्धको रिट संवैधानिक इजलासमा, अन्तरिम आदेश भएन

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत

अन्तत: लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनीको विशेष अधिवेशन आह्वानविरूद्धको रिट भट्टराईको इजलासमा

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !