८ बैशाख २०८१, शनिबार

देउवालाई देवत्वकरण गर्न बनाएको भिडियोप्रति काँग्रेस प्रवक्ताको नै आपत्ति


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवालाई देवत्वकरण गर्न भिडिओ बनाउँदै सार्वजनिक गर्न थालेपछि काँग्रेस प्रवक्ताले नै आपत्ति जनाएका हुन् ।

देउवाको सचिवालयले प्रधानमन्त्रीको सकारात्मक कुराहरूको भिडिओ भन्दै सार्वजनिक गरेकोप्रति शर्माले सामाजिक संजाल ट्वीटरमा बिहीबार राति सुझाव दिंदै असन्तुष्ट प्रकट गरेका हुन् ।

उनले यो भिडिओ बनाउने नभएर काम गर्ने बेला भएको उल्लेख गरेका छन् । देउवाले गरेका राम्रा कामको बखान उल्लेख गरेर भिडिओ सार्वजनिक भएपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रवक्ता शर्माले यो प्रधानमन्त्री देउवालाई सही सल्लाह र साथ दिने बेला भएकोले काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडिओ नत्र पार्टीले बनाउला भनेर आफ्नो धारणा सार्वर्जनिक गरेका हुन् ।

शर्माले ‘पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ’ भनेर लेखेका छन् । देउवाकै अनुमतिमा उनको सचिवालयले सकारात्मक कुरा गर्ने मानिसहरू तथा निकटता जोडिएका व्यक्तिहरू खोज्दै भिडिओ बनाएर बाहिर ल्याउन थालेको थियो ।

शर्माले हिजो राती लेखेका थिए, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सहि सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैले बनाउने छन्- `भिडियो´, नत्र पार्टीले बनाउला ! पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । `प्रधानमन्त्रीको सचिवालय´को ध्यानाकर्षण गराएको छु l ‘खोपदेखि भोटसम्म´ को यो यात्रा तिन तहको निर्वाचन मार्फत संविधान कार्यान्वयनको अघिल्लो सफलता भन्दा चुनौतीपूर्ण छ । जति चुनौती उतिनै गम्भीरता अपेक्षित हुन्छ ! परिणाम राम्रो दिउँ, प्रचारको कमान्ड सम्हाल्न हजारौं स्वयंसेवी लामबद्द हुनेछन् । जय नेपाल !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !