४ बैशाख २०८१, मंगलबार

पूर्वमाओवादीका चार नेताहरुको मुद्दा आनन्दमोहन भट्टराईको इजलासमा


टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी

काठमाडौं । पूर्व माओवादी चार नेताहरुले सांसदका रुपमा कायम रहन मागदावीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई हुने भएको छ ।

पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिट निवेदन शुक्रबार न्यायाधीश भट्टराईको एकल इजलासमा राखिएको छ ।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो ।

उक्त रिट निवेदन हिजो बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसी राखिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले पार्टी सदस्यताबाटै बर्खास्त गर्दै सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो ।

आफूहरु एमालेमा प्रवेश नगरेको अवस्थामा पार्टीले कारवाही गरेको भन्दै उनीहरुले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !