७ बैशाख २०८१, शुक्रबार

कांग्रेसलाई ८ मन्त्रालय, को-को मन्त्री बन्दै ?


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिइएको छ । स्रोतका अनुसार नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको स्रोतले बतायो ।

बाँकी तीन राज्यमन्त्री बनाइने छ । कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागेको छ । गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक बस्दैछ । काँग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

यस्तै, जसपा कार्यकारिणी समिति बैठक पनि सुरु भएको छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।

पावर सेयरिङ मिलाउनका लागि काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र महामन्त्री पूर्णबहादुर खड्कालाई खटाएका छन् । यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको छ ।

पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि नेताहरु गोप्य रुपमा बैठक बसेर मन्त्रालय र मन्त्रीको टुंगो लगाउन जुटेको बुझिएको छ ।

काँग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मासहितका नेताहरूले मन्त्रीका लागि दाबी गरेका छन् । यस्तै पौडेल पक्षबाट, सुजाता कोइराला, दिलेन्द्र बडू मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीले लबिङ गरिरहेका छन् । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !