८ बैशाख २०८१, शनिबार

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारको बैठक आज बस्दै छ । बैठक आज मंगलबार बिहान १० बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेश गर्ने पनि जानकारी दिए ।

काँग्रेसको १४ औँ महाधिवेशनको आगामी भदौँ १६ गतेका लागि तय गरिएको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा व्यस्त छन् ।

काँग्रेसले गाउँ र नगरका वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी बनाएको कार्यतालिका स्थगित गरिएको छ । आजको बैठकमा नयाँ कार्यतालिकाबारे समेत छलफल हुने पौडेलले बताए ।

पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन । क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।

१६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्नेमा काँग्रेसमा छलफल चलिरहेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !