११ बैशाख २०८१, मंगलबार

निर्वाचन आयोगद्वारा उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता


उपेन्द्र यादव-बाबुराम भट्टराई

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बोलाएर हेड काउन्ट गरेको थियो । जसपा नेपालका कार्यकारिणी सदस्य रेशम चौधरी भने तटस्थ बसेका छन् ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए । १ जना सदस्य तटस्थ रहेका छन् । जसपाको विवाद निरुपणका लागि आयोगले आज पार्टीका सबै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराएको थियो ।

जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो ।

आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो । जसपाको सङ्घीय संसद्को दुवै सदनमा सांसदको सङ्ख्या ३५ जना रहेको छ । संघीय सांसद ३२ र राष्ट्रियसभामा ३ सांसद छन् ।

आयोगले जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंग्याएएर यादव पक्षलाई आधिकारिकता दिदै ठाकुर पक्षलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ ।

आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाएपनि ठाकुर पक्षका सांसदहरुको पद खारेज हुने नहुनेबारे भने केही स्पष्ट पारेको छैन । यो विषय सम्बन्धित राजनीतिक दल र संसद सचिवालयको क्षेत्राधिकारमा पर्ने भएकाले यसबारे आयोग नबोलेको हो ।

सत्ता समीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र इत्तर गठबन्धनका विषयमा उत्पन्न विवादले जसपा विभाजनमा पुगेको छ । ठाकुर पक्ष ओलीतिर र यादव पक्ष पाँच दलीय गठबन्धनमा लागेपछि जसपा दुई भागमा विभाजित भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !