११ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री देउवाद्वारा निर्मला पन्तको दाेषी पत्ता लगाएर कारबाही गर्न गृहमन्त्री र आइजीपीलाई निर्देशन


प्रधानमन्त्री देउवाद्वारा निर्मला पन्तको दाेषी चाँडोभन्दा चाँडाे पत्ता लगाएर कारबाही गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको दाेषी चाँडोभन्दा चाँडाे पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।

निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आज प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएका छन् ।

भीमदत्त नगरपालिका-२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ । साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन भएकी उनीको बलात्कारपछि हत्या गरिएका अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।

‘निर्मला हत्या प्रकरणमा न्याय पाऔँ’ भन्दै निर्मलाका बुबा, स्थानीयवासी र अधिकारकर्मीले आज दिउँसो महेन्द्रनगर बजारमा र्याली निकालेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त प्रकरणको सघन रुपमा अनुसन्धान भइरहेको जनाएको छ ।

घटनापछि तीन वर्षदेखि निरन्तर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कञ्चनपुरमै बसेर अनुसन्धानमा खटिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा आउने प्रहरी नायब उपरीक्षकलाई अनुसन्धान अधिकृत खटाएर जिल्लास्तर र प्रदेशबाट समेत घटनाका अनुसन्धानमा प्रहरीका छुट्टा छुट्टै टोली परिचालित छन् ।

घटनामा संलग्न जनाउँदै प्रहरीले घटनाको चौथो साता भीमदत्त नगरपालिका–१९बागफाँटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्था ठीक नभएका उनलाई अभियुक्त बनाएको आक्रोशमा यहाँ आन्दोलन चर्कियो । अभियुक्त विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयले रिहा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !