१३ बैशाख २०८१, बिहिबार

देउवा निवास बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारको बैठक आज जारी रहेको छ । बैठक आज शनिबार बिहान ९ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी रहेको हो ।

हिजो शुक्रबारदेखि जारी बैठकमा काँग्रेसको आगामी १४ औं महाधिवेशनको तयारी र क्रियाशील सदस्यतामा देखिएको विवादको बारेमा छलफल भईरहेको छ । आगामी भदौँ १६ गतेका लागि तय गरिएको महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएपछि त्यसको निकासका लागि नेताहरु छलफलमा छन् ।

काँग्रेसले वडा तहको अधिवेशन यही १२ साउनबाट सुरु गर्नेगरी बनाएको कार्यतालिका प्रभावित हुने निश्चित देखिएको छ । अब काँग्रेसको वडा तहको अधिवेशन साउन अन्तिममा गर्नेगरी सार्ने तयारी गरिएतापनि मिति भने तय भइसकेको छैन ।

१६ भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गर्ने वा अधिवेशनको प्रक्रिया छोट्याउने भन्नेमा काँग्रेसमा छलफल चलिरहेको छ । शुक्रबारको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले भदौँ १६ मा कुनै हालतमा महाधिवेशन गर्नेगरी तयारीमा जुट्न निर्देशन दिएका थिए ।

पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ । काँग्रेसले अब उपरान्त पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले हिजो बिहीबार सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका थिए । खड्काले अब पार्टीका औपचारिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्‍ने जानकारी दिएका थिए ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला पार्टीका बैठक बालुवाटारमा राख्ने गरेको परिपाटीलाई निरन्तरता दिंदै प्रधानमन्त्री देउवाले पनि पार्टीको बैठक बालुवाटारमा राख्ने गरेकोले सामाजिक संजाल र संचार माध्ययमा उनको चर्को आलोचना हुँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !