७ बैशाख २०८१, शुक्रबार

देउवा निवास बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्दै


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । बैठक आज शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार कांग्रेस पदाधिकारी र पूर्ब-पदाधिकारीहरु सहितको आज बस्न लागेको बैठक आगामी १४ औ महाधिवेशनको तयारी सम्बन्धमा केन्द्रित हुने बताए । आज बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४ औँ महाधिवेशनका बारेमा छलफल हुने पौडेलले जानकारी दिए ।

कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।

काँग्रेसले अब उपरान्त पार्टीका कुनै पनि बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले हिजो बिहीबार सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् । खड्काले अब पार्टीका औपचारिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नबस्‍ने जानकारी दिएका हुन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला पार्टीका बैठक बालुवाटारमा राख्ने गरेको परिपाटीलाई निरन्तरता दिंदै प्रधानमन्त्री देउवाले पनि पार्टीको बैठक बालुवाटारमा राख्ने गरेकोले सामाजिक संजाल र संचार माध्ययमा उनको चर्को आलोचना हुँदै आएको थियो ।

यो पनि पढ्नुहोस्

कांग्रेसले अब उपरान्त पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !