१२ बैशाख २०८१, बुधबार

ओलीले आममाफी घोषणा गरेपछि माधव नेपालसँग भेटवार्ताको तयारी


केपी ओली र माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकाएक नरम रणनीति अपनाएर बाटो बिराएका सबैलाई आममाफी दिने घोषणा गरेपछि एमालेका असन्तुष्ट बरिष्ठ नेता माधव नेपालसँग भेटवार्ताको तयारी गरिएको छ ।

एमालेको दोस्रो तहका नेताहरुको पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल भेट्न सहमति भएकोले आजै साँझ कुनै पनि बेला भेटवार्ता हुन सक्ने भएको हो । एमालेका यी दुवै शीर्ष नेताहरुको भेटवार्ताको तयारी गरिएतापनि अहिलेसम्म स्थानको टुंगो लाग्न सकेको छैन ।

नेकपा एमालेको आज सम्पन्न केन्द्रीय समिति बैठकले ओलीले पार्टी विवादमा माधव समूहले गरेको गल्तीमा क्षमा दिदै सँगै मिलेर काम गर्ने समेत बताएका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर बाटो बिराएका भडि्कएकाहरु सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका हुन् ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिएपछि सोही विषयलाई लिएर एमालेले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनीहरुलाई आज कारवाही गर्ने भनिएपनि कारवाहीको प्रक्रिया अघि बढाइएन ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी समेत गरेका छन् । उनीहरुले जवाफ पठाउले तयारी गरेतापनि ओलीले आममाफी दिने घोषणा गरेपछि नेपाल समूह अलमलमा परेको छ ।

ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउदै पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको एमाले कर्कलोको पातको पानी जस्तो कसैले हल्लाउँदैमा भुँइमा नखस्ने भनेर प्रचण्डप्रति व्यंग गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !