८ बैशाख २०८१, शनिबार

कांग्रेस सांसद अमरेशकुमार सिंहले बुझाए देउवालाई राजीनामा पत्र


अमरेशकुमार सिंह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । पार्टीमा क्रियाशील सदस्यता वितरण, नवीकरण तथा समायोजनको विषयमा असन्तुष्टि जनाउँदै सिंहले आज बुधबार प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद सांसद सिंहले पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै पार्टी सभापति देउवासमक्ष राजीनामा पत्र पेश गरेका हुन् ।

मधेसमा कांग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनस्स्थापना गर्न नागरिकको हैसियतमा आफ्नो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले राजीनामा दिने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग छलफल गरेका थिए । आफ्नै पार्टीका कार्यकर्तालाई न्याय दिन नसक्ने हो भने सांसद पदमा बसेर जनताको सेवा गर्न नसक्ने भएकाले प्रनिधिसभा सदस्य पदबाट राजीनामा दिएको सिंहले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !