एमालेले पठायो देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र Nepalpatra एमालेले पठायो देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र
५ आश्विन २०७८, मंगलबार

एमालेले पठायो देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र


माधव नेपाल

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएको छ । एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र पठाइसकेको जानकारी दिएका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले साउन ४ गते सोमबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर आधिकारिक जानकारी नगराएको भनेपछि एमालेले आजै पत्र पठाएको हो । उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय गरिएको थियो ।

असर ३ गते आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।

मत दिनेमा माधव नेपाल पक्षका १४ जना मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसद पनि थिए । एमाले कार्यालय सचिव तामाङले ओली समूहका ८ सांसदले देउवालाई मत दिएको पुष्टि गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली समूहका ८ जना सांसदहरुमा प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशुंखे, समिना हुसेन, विना बुढाथोकी र हिरा केसी रहेका छन् ।

देउवालाई विश्वासको मत दिने नेपाल समूहका सांसदहरुमा माधव नेपालसहित विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, मेटमणि चौधरी र मुकुन्द न्यौपाने रहेका थिए ।

यस्तै भवानी खापुङ, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मी चौधरी, मीरा जैरी, कलिला खातुन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए ।

नेपाल समूह र ओली समूहमा रहेका२२ जना सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । ओली समूहले कारबाही गर्ने तयारी गरेपछि नेपाल समूहले पनि आज छलफलमा जुटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा