११ बैशाख २०८१, मंगलबार

देउवालाई विश्वासको मत दिनेहरू पार्टीमा नरहने, नेपाल नफर्किने एमाले बैठकको निष्कर्ष


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । नेकपा एमालेले दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

बैठक सकिएपछि संचारकर्मीसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको स्पष्ट पारे ।

उनले सम्भव भएसम्म अरु दललाई पनि देउवालाई विश्वासको मत नदिन आग्रह गरिने उनले बताएका छन् । उनले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरेपनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अस्वीकार गरेको बताए ।

उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको समेत बताए । एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए ।

नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ । उनले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने बताए ।

एमालेका वरिष्ठ नेता नेपाल समूह प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो । स्रोतका अनुसार अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !