८ बैशाख २०८१, शनिबार

आजै विश्वासको मत लिँदै प्रधानमन्त्री देउवा


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजकै बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो ।

सर्वोच्चको परमादेशपछि असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रधानमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार उनले आजै विशावाको मत लिने भएका हुन् ।

एमाले र जनता समाजवादी पार्टी (जसपा) मा तीब्र विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि हिजो शनिबार एकाकाए नयाँ निर्णय गरिएको हो ।

बालुवाटार स्राेतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक पनि बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !