१३ बैशाख २०८१, बिहिबार

अन्तत: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ


प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ

काठमाडौं । अन्तत: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । आज मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । भण्डारीले आज मंगलबार दिउसो नै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

तर राष्ट्रपति भण्डारीले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी गरेकी थिइन् । राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ तर संविधानको कुन धारा अन्तर्गत नियुक्त गरिएको भन्ने खुलाइएको थिएन ।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।

देउवाले गत जेठ ७ गते संविधानाको धारा ७६ को उपधारा ५ बमोजिम १४९ जना सांसदको हस्ताक्षरसहतिमा राष्ट्रपति समक्ष दाबी पेश गरेका थिए । संवैधानिक इजलासको फैसलाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताका नाममा सपथ लिएका छन् । सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न हिजो सोमबार परमादेश दिएपछि राष्ट्रपतिले भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

सपथग्रहण समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

अन्तत: नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए सपथ

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !