८ बैशाख २०८१, शनिबार

सहमतिमा संयुक्त सरकार बन्न सक्छ : घनश्याम भुसाल


घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतको फैसलाले संसद् र संविधान जोगिएको दावी गरेका छन् । सर्वोच्चले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनले यस्तो बताएका हुन् ।

नेता भुसालले भने, “पटकपटक संसद् विघटन गर्नु एमालेको गल्ती थियो । अब गल्ती नदोहोर्‍याउने प्रतिवद्धता गर्नुछ । संसद् र संविधान रक्षा गर्नु महत्वपूर्ण भएकाले गम्भीर बनेर थप निर्णय गरिने उनले बताए । ‘हाम्रो मुलुकको स्वतन्त्रतता, स्वाधीनता र हाम्रो आन्दोलन जोगाउन संविधानको रक्षा जरुरी छ ।”

संविधान कार्यान्वयनका क्रममा पार्टीले ठूलो क्षति बेहोर्नु परेको भन्दै उनले भने, “संसद् जोगाउने हाम्रो कदम राजनीतिक रुपमा सही थियो । अहिले पार्टीलाई एकताबद्ध गर्ने निर्णय गरेका छौं, यो पनि सही छ ।”

‘कांग्रेस, माओवादी, उपेन्द्रजीहरुसँग पनि छलफल गर्छौं । सहमतिमा संयुक्त सरकार बन्न पनि सक्छ’, भूसालले भने । अदालतको फैसला पछि सरकार बनाउनेबारे अनेक विकल्प रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !