१२ बैशाख २०८१, बुधबार

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर


निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो ।

आयोगले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय गरेको हो ।आयोगले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर गरेको हो ।

हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । उक्त निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।

पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्ट लगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए ।

आयोगले पूर्वमाओवादी नेताहरूको दावीलाई अस्वीकार गर्दै माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि आयोगले खारेज गरेको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।

निर्वाचन आयोगले माओवादी केन्द्र दल वैधानिक रहेको पुष्टि गर्न विभिन्न उदाहरणहरु दिएको छ । आयोगले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल गौरवशाली पार्टी र अन्य राजनीतिक दलहरु संयुक्त भई २०७३ साउन ३२ गते नेकपा माओवादी केन्द्र नामक दल दर्ता भएको देखिएको उल्लेख गरेको छ ।

त्यस्तै नेपालको संविधान जारी भएपछि आयोगले राजनीतिक दलहरुलाई दर्ता हुन सूचना प्रकाशन गरेपछि नेकपा माओवादी केन्द्रले २०७३ मंसिर ३० गते दल दर्ता गरेको र उसले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको उल्लेख गरेको छ ।

आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ २३ गते एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नामक दल बनेको कारण पनि दिएको छ । नाम विवादले ती दलहरु अलग-अलग हुने भनी सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको पनि आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !