१३ बैशाख २०८१, बिहिबार

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी, सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने


एमाले कार्यदल बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले एकताको सन्देश सुनाउन आज आइतबार बिहान ८ बजे बस्ने भनिएको कार्यदल बैठक सवा ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको छ ।

१० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा आज बिहान हस्ताक्षर गर्ने तयारी गरेको हो । नेता नेपालको निवास कोटेश्वरमा १ घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक जारी रहेको छ ।

विशेष स्रोतका अनुसार संस्थापन समूहका पाँचै जना नेताहरु अर्थ मन्त्रालयमा नेपाल समूहका नेताहरुलाई कुरिरहेका थिए । माधव समूहका नेताहरु पुगेपछि आजै सहमतिमा हस्ताक्षर हुने बुझिएको छ ।

सिंहदरबारमा हिजो विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको थियो । वरिष्ठ नेता नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका थिए ।

विष्टले आज आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने बताएका थिए । उनले त्यो विन्दुसम्म पुर्याउनका लागि धेरै हदसम्म सहमति गरेका बताउदै अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेकोले आज एकताको सार्थक निष्कर्षमा पुग्ने बताएका थिए ।

एमालेलाई एकताबद्ध बनाएर राष्ट्र जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि भोलि एकताको घोषणा गरिने जानकारी उनले दिए । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ ।

विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आम कार्यकर्तालाई एकताको सन्देश दिँने भएको हो । एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !